आत्महत्याका कारणहरु, यसका पुर्व संकेत अनि त्यसलाई घटाउनको लागि गर्न सकिने उपायहरु
Tilak Pokharel
फेब्रुवरी २०१६ मा अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा एक नेपाली युवकले आफ्नै कोठामा झुण्डिएका थिए । काठमाडौं निवासी भण्डारी थरका ति युवाले ग्रानभिलस्थित आफ्नो डेरामा आत्महत्या गरेका थिए । भण्डारी करिब दुई वर्ष अघि अष्ट्रेलिया आएका थिए ।
त्यस्तै
सेप्टेम्बर २०१६ मा काठमाडौंको कोटेश्वर घर भई सात वर्षदेखि मेलबर्नमा बसोबास गर्दै आएका श्रेष्ठ थरका अर्का युवाको मृत्यु भएको थियो । विहान आफ्नो घरबाट साथीको गाडी लिएर निस्किएका उनी काम गर्ने ठाउँ नजिकै हाईवेमा तिव्रगतिमा रहेको कारमा ठोक्किएका थिए । उनी गाडीलाई नजिकैको पेट्रोल पम्पमा रोकेर पैदलै हाईवेमा निस्किएका थिए र तिब्र गतिको गाडी अगाडी हाम फालेका थिए।
जनवरी २०१७ मा सिड्नीमा अर्का एक नेपाली युवा मृत भेटिएका छन् । तीन वर्षदेखि अष्ट्रेलियामा अध्ययन गर्दै आएका उनी एक रेल्वे स्टेशनमा मृत भेटिएका थिए ।
यी त केहि प्रतिनिधि घटना मात्र हुन।
सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । आफ्नो समस्या निराकरण वा समाधान गर्न नसके पछि व्यक्तिले यस्तो काम गर्छ । परिवारका सदस्य, समाजका व्यक्ति र साथीभाइले आफ्नो समस्यालाई नबुझेको महसुश गरेमा आफूलाई बेकार ठानी अन्तिम उपायको रुपमा आत्महत्या गर्ने गदर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ ।
कतिपय ठाउमा आत्महत्या तथा आत्महत्याको प्रयास सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।
तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति (रोग) हो । यो विकृति पछिल्ला केहि वर्षमा बढेको पाइएको छ । आत्महत्या यही कारणले गर्छन भनेर किटेर भन्न सक्ने अवस्था छैन् । आत्महत्यामा मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको ठूलो भूमिका रहन्छ ।
अब कुरा गरौ बिदेसी भूमिमा हुने आत्महत्याको बारेमा।
अहिले अध्धयन र कामको सिलसिलामा धेरै नेपालि बिदेसिएका छन। पछिल्ला केहि बर्सहरुमा अस्ट्रेलिया आकर्सणको केन्द्र बनेको छ । गर्न सक्नेलाई यहाँ धेरै अवसरहरु छन् र साथ साथै चुनौती पनि । यहा सफलता पाउनको लागि धैर्यता, आँट र सहनशीलता चाहिन्छ । छोटो समयमा नै धेरै कमाइहालौँ वा प्रगति गरौ भन्ने मनोकांक्षा वा सपना र त्यो पूरा नहुँदा गलत परिणाम पनि निस्किरहेका छन् । र अहिलेको मुख्य समस्या भनेको नेपालीहरुमा धैर्यता, सहनशीलता र अठोटको कमी देखिएको छ ।
नेपालबाट अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थीले नेपाल रहँदा देखेको वा देखाइएको सपना अस्ट्रेलिया आउनासाथ पूरा नहुँदा उनीहरूमा विचलन आएको देखिन्छ । र यो बिचलनका कारण कहिलेकाही विद्यार्थी आत्महत्यासम्म पुगेको अवस्था छ ।
आत्महत्याका कारण हरु विभिन्न हुन सक्छन। बिभिन्न अध्ययन ले आत्महत्याका कारण मध्ये प्रमुख कारण मानसिक रोग नै भएको जनाएका छन्। ८० देखि ९० % आत्महत्या मानसिक रोगकै कारण बाट भएको पाइएको छ। र बाकि क्षणिक आबेगमा गरिएको पाइन्छ।
बैदेशिक अध्यन र रोजगारीको समस्या, उच्च मनोकांक्षा, ब्यस्त जिवन, परिवार तथा आफ्ना नजिकका संग भएको बिछोड वा एकलोपन डिप्रेशनका कारण बन्दै गएका छन। आत्महत्या विरक्तताको शृङ्खलाको उच्च बिन्दु हो। यहाँ पुगेपछि मानिशले आफुलाई पराजित मानसिकताको परम शुन्यमा देख्छ र जिवनलीला समाप्त पार्छ।
उच्च अध्ययनका लागि बाबुको साथ र आमाको काख छाडेर अस्ट्रेलिया हानिएका कर्णधारमा विभिन्न कारणले विचलन आउनु र ज्यानसम्म फाल्नु यतिबेला अस्ट्रेलियामा चिन्ताको विषय बन्न पुगेको छ । विशेष गरेर विद्यार्थीलाई आत्महत्यासम्मको अवस्थामा पुर्याउनुमा पारिवारिक कारण मूल देखिएको छ । अध्ययन गर्न आएका विद्यार्थीमा पढ्न आउँदा लागेको खर्च उठाउनुपर्ने र नेपालबाट पैसा पठाउन बारम्बार ताकेता आउनु पनि उनीहरूका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ । यता आएर विशुद्ध रूपमा अध्ययन मात्र गर्ने विद्यार्थीको संख्या निकै कमी छ । पढ्न आएको विद्यार्थीको कलिलो दिमागमा चौतर्फी दबाब नै उनीहरूका लागि गलत कारण बनिरहेको छ । परिवारमा सुखसयल र रमाइलो गरेर जीवन बिताइरहेका विद्यार्थीमा यता आएपछि ठूलै जिम्मेवारी काँधमा पर्न जान्छ । कमाएर बाँच्नुपर्ने, कलेजको फी तिर्नुपर्ने र परिबारबाट बारम्बार पैसा पठाउन दबाब आइरहने जस्ता कुराले त्यो कलिलो दिमागमा असर परेको देखिन्छ ।
यसै मेसोमा आजको कार्यक्रममा हामीले आत्महत्याका कारणहरु, यसका पुर्व संकेत अनि त्यसलाई घटाउनको लागि गर्न सकिने उपायहरुको बारेमा छलफल गर्नेछौ। छलफलको लागि हामीसँग हुनुहुन्छ, मेलबर्नमै कार्यरत मनो-चिकित्सक डा. अनुपम पोखरेल।